सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र भयो : अनेरास्ववियु


२०८२ बैशाख ८ आइतबार १४:५९ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र गरेको बताएको छ । शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

‘निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन्,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियुले शिक्षक महासंघ र सरकार दुवैलाई संगठनको ३ बुँदे माग प्रष्ट्याएको छ । जसमा शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गरिनुपर्ने, शिक्षक महासंघले पनि पेशागत संगठन भएर समाधानमुखी वार्ताको बाटो समात्न आग्रह गरिएको छ । वैशाख १२ देखिको संसद अधिवेशनमा शिक्षा ऐन टेबल गरी दीर्घकालीन संस्थागत निकासको खाका प्रस्तुत गर्न पनि अखिलले माग गरेको छ ।

हालको आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेको जिकिरसहित अनेरास्ववियुले केही तथ्य पेश गरेको छ । पछिल्लो ५ वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको दाबी अनेरास्ववियुको छ । ‘सार्वजनिक विद्यालयहरूबाट वार्षिक झण्डै ७ लाख विद्यार्थी बाहिरिएका छन् । विद्यालय बन्द हुने वित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ ।

‘शिक्षा जस्तो संवेदनशील पेशामा आवद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेशागत प्रश्न पनि हो,’ विज्ञप्तिमा भनिएको छ। शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववयुले माग गरेको छ । विद्यालय फर्किन शिक्षकहरूलाई अनेरास्ववियुले आग्रह गरेको छ । ‘अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस् । आफ्ना मागका लागि लड्नुहोस्, तर विद्यार्थीलाई घेराबन्दीमा नपारौं,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ति
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७