‘अरणव’ चक्रवातको जोखिम : लुम्बिनीका सात जिल्लामा सतर्कता अपनाउन आग्रह


२०८३ कार्तिक १२ बुधबार ०८:३६ बजे

काठमाडौँ : बंगालको खाडीमा विकसित ‘अरणव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्न सक्ने भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुन सक्ने जनाएको छ।

प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले किसानलाई कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न आग्रह गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्राबाट जोगिन अनुरोध गरिएको छ।

नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र सुरक्षित स्थानमा रहन मन्त्रालयले आग्रह गरेको छ।

जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन पनि भनिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सवारी आवागमन रोक्ने र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायलाई नागरिकलाई जोखिमबारे सुसूचित गर्न तथा उद्धार र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७