५० पत्रकार महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण
काठमाडौं : नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५० जना पत्रकार महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको ब्रेस्ट एन्ड थाइराइड युनिटसँगको सहकार्यमा संस्थाले तीन दिनसम्म सञ्चालन गरेको कार्यक्रममा महिला पत्रकारहरूको मेमोग्राम र अल्ट्रासाउन्ड विधिबाट परीक्षण गरिएको हो ।
अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने अभियानप्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रम आयोजना गरिएको संस्थाकी सञ्चार सल्लाहकार साजना तामाङ कुँवरले जानकारी दिइन् ।
चार दशकदेखि क्यान्सरको क्षेत्रमा काम गर्दै आएको संस्थाले स्तन क्यान्सरको परीक्षण र उपचारसम्बन्धी पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको उनले बताइन् ।
विशेषगरी घरपरिवार र पेसागत जिम्मेवारीका कारण आफ्नै स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसक्ने महिला पत्रकारलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
‘सधैँ अरूका समाचार लेख्ने, नयाँ विषय खोज्ने र आफ्नो बाइलाइनमा ध्यान दिने महिला पत्रकारले व्यस्तताका कारण आफ्नै स्वास्थ्यलाई प्राथमिकतामा नराख्न सक्छन् । त्यसैले उहाँहरूलाई लक्षित गरेर यो कार्यक्रम डिजाइन गरिएको हो,’ कुँवरले भनिन् ।
कार्यक्रममा उपप्राध्यापक एवं वरिष्ठ स्तन क्यान्सर सर्जन डा. सुजिता हिराचनसहित ब्रेस्ट क्यान्सर विभागका चिकित्सकले सहभागीहरूको परीक्षण गरेका थिए ।
परीक्षण गरिएकामध्ये ३० जनाको मेमोग्राम र करिब २० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । रेडियोलोजी विभागका डा. अनामिका झासहितको टोली पनि परीक्षणमा सहभागी थियो ।
वरिष्ठ स्तन क्यान्सर सर्जन डा. हिराचनले स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सके उपचार प्रभावकारी हुने बताइन् । रोग पहिचान गर्न जति ढिलाइ हुन्छ, उपचार त्यति नै जटिल बन्दै जाने उनको भनाइ छ ।
उनले महिलालाई नियमित रूपमा आफ्नो स्तनको अवस्था जाँच गर्न पनि सुझाव दिइन् । विशेषगरी महिनावारी हुने महिलाले महिनामा कम्तीमा एकपटक, महिनावारी सुरु भएको करिब तीन दिनपछि स्तनको स्वपरीक्षण गर्नुपर्ने उनले बताइन् ।
संस्थाका अध्यक्ष महेश श्रेष्ठले स्तन क्यान्सर परीक्षणको अवसरबाट वञ्चित महिलालाई समेत सेवाको पहुँचमा ल्याउने उद्देश्यले देशभर अभियान विस्तार गर्ने जानकारी दिए । सहभागी महिला पत्रकारहरूले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
नेपालमा हरेक वर्ष करिब पाँच हजार स्तन क्यान्सरका नयाँ बिरामी थपिने गरेको तथ्याङ्क छ । विश्वभर भने प्रत्येक वर्ष करिब २४ लाख नयाँ बिरामी थपिने गरेका छन् ।
सन् २०५० सम्म विश्वमा स्तन क्यान्सरका नयाँ बिरामीको सङ्ख्या वार्षिक ३५ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।
विकसित देशहरूमा ६० वर्षभन्दा माथिका महिलामा स्तन क्यान्सर बढी देखिने भए पनि नेपालमा ४० देखि ५० वर्ष उमेर समूहका महिला यसबाट बढी प्रभावित हुने गरेका छन् ।
बढ्दो सहरीकरण, वंशानुगत कारण, ढिलो उमेरमा बच्चा जन्माउनु, छोटो समयसम्म स्तनपान गराउनु, मोटोपना, धूमपान तथा मदिरा सेवनलाई स्तन क्यान्सरको जोखिम बढाउने कारकका रूपमा लिइन्छ ।
त्यसैले नियमित स्वास्थ्य परीक्षण, समयमै रोग पहिचान र जनचेतना विस्तारलाई स्तन क्यान्सर नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ ।
.gif)

.png)



