७० वर्ष पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड

‘मोदीजीसँग मैले खरो कुरा नगरेको भए हुलाकी राजमार्गको कामले गति लिने थिएन’


२०८२ बैशाख ४ बुधबार ०५:३१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।
पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् ।

‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् । उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको बताए ।

‘हजारौं र लाखौं जनसमुदाय जोडिनु भएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईहरू पनि दौडिनु होला ।’
‘मोदीजीसँग मैले खरो कुरा नगरेको भए हुलाकी राजमार्गको कामले गति लिने थिएन’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकिएको हुलाकी राजमार्गको कामलाई आफूले तीव्रता दिएको दाबी गरेका छन् । आफू प्रधानमन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खरो कुरा नगरेको भए भारतले रोकिएको हुलाकी राजमार्गको कामलाई अघि नबढाउने उनको दाबी छ । 

पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी–तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी र पाल्हीनन्दनमा आयोजना गरेको खबरदारी जनसभामा प्रचण्डले सो दाबी गरेका हुन् । वर्षौंदेखि लथालिङ्ग भई काम अगाडि बढ्न नसकेको हुलाकी राजमार्गको कामलाई आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि अघि बढाएको उनको तर्क थियो। त्यतिबेला आफूले भारतले नबनाए नेपालले हुलाकी राजमार्ग बनाउने बताएपछि भारतले चासो दिएको उनको भनाइ छ ।

‘भारत भ्रमणका क्रममा मैले नरेन्द्र मोदीजीसँग खरो कुरा गरे। हुलाकी राजमार्ग भारत सरकारले गर्ने समझदारी छ, तपाईहरू बनाउनु हुन्छ कि म नेपालकै बजेटबाट काम सुरु गरौं भने । मोदीजीले तपाईँहरू अघि बढ्नुस् भन्नुभयो । भारत भ्रमणपछि मैले २०७३ सालमा सिरहाको बरियारपट्टीबाट शिलन्यास गरेपश्चात काम सुरु भएको हो,’ उनले भने । 

आफूले सुरु गरेको कामले अहिले तिव्रता पाएको बताउँदै उनले अहिलेसम्म साढे ३ सय किलोमिटर हुलाकी सडकको काम सकिएको र केही बाँकी भएकाले त्यसलाई पनि समयमा सम्पन्न गराउनका लागि आफूले दबाब दिने बताए। 

उनले सरकार बेथिति र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाउँदै भ्रष्टचारीहरूलाई उदांगो पार्न पनि यो अभियान सञ्चालन गरेको बताए। जनसभालाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्डले मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यले स्थापना गरेको त्रिवेणीस्थित गजेन्द्र मोक्षधामको दर्शन र अवलोकन गरेका थिए। माओवादीका नेताहरू नन्दकिशोर पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतका केन्द्रीय टोली लिएर मंगलबार राति पश्चिम नवलपरासी पुगेका प्रचण्डले बेपत्ता र जनयुद्धमा सहिद भएका परिवारका आफन्तलाई समेत भेटघाट गरेका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७