नेकपा एसको कोशी अध्यक्षमा खड्का ‘सर्वसम्मत’ घोषणा, प्रतिनिधि असन्तुष्ट


२०८१ चैत २८ बिहीबार १७:०३ बजे

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । दुई दिनअघि इटहरीमा सुरु भएको प्रथम अधिवेशनबाट खड्कालाई अध्यक्ष घोषणा गरिएको हो । निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको हो ।

अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका थिए । प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टले दाबी प्रस्तुत गर्दै आएका थिए । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

सरिता यसअघि उपसचिव थिइन् । २०७४ मा समानुपातिक प्रदेशसभा सांसद भएकी उनी ७९ को चुनावमा सङ्खुवासभा १ (१) मा पराजित भइन् । तर, सर्वसम्मतका नाममा खड्कालाई टीका लगाइएको भन्दै अन्य आकांक्षी र प्रतिनिधिले असन्तुष्टि जनाएका छन् । प्रदेश कमिटीको सचिव खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शङ्कर चयन भए । प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त रहेको पदमा मनोनीत गर्ने समेत जनाइएको छ । एकीकृत प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।

बुधवार नै गर्ने भनिएको निर्वाचन प्रक्रिया लम्याएर आज नाम टाँसिएको भन्दै अध्यक्ष मण्डलको आलोचना भएको छ । अध्यक्षका दाबेदार धर्म निरौलाले सर्वसम्मतका नाममा सबै प्रतिनिधिलाई घर पठाएर अध्यक्षको नाम सुनाएको बताए ।  हिजै निर्वाचन गर्न अध्यक्षका आकांक्षीहरूले माग राख्दै आएका थिए तर अध्यक्ष मण्डलले सर्वसम्मतको प्रयास गरौँ भन्दै आजसम्म अड्काएर प्रतिस्पर्धालाई रोकेर टीका लगाएको निरौलाको भनाई छ । 

नेकपा एस कोसीको अधिवेशनको नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए । पूर्व मुख्यमन्त्री समेत रहेका राई पार्टीका उपमहासचिव हुन् । अध्यक्ष मण्डलमा राजन राई, जीवन राई, खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७