गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । राजावादीको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा बैठक गृह मन्त्रालयमा जारी रहेको छ ।
बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ । शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो । उनीहरूले सर्वसाधारणको घर, कार्यालयमा आगजनी गरेका छन् । दर्जन बढी घरमा ढुङ्गामुढा प्रहार गरेर क्षति पुर्याएका छन् । आक्रामक हुँदै गएका राजावादी प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा समेत झ्यालका सीसा फुटाएर आगजनी प्रयास गरेका छन् ।
कान्तिपुर र अन्नपूर्ण पोष्टको कार्यालयमा समेत तोडफोड भएको छ । प्रहरीले राजावादी प्रदर्शनकारीलाई तीनकुने क्षेत्रबाट तितरवितर पारेपछि हिसांत्मक बन्न थालेका हुन् । तिनीहरूले शान्तिपूर्ण सभा गर्न छोडेर प्रहरीमाथि जाइलागेका थिए । निषेधित क्षेत्र तोड्न खोजेका थिए । भीडलाई रोक्न खोजेको प्रहरीलाई समेत ढुङ्गामुढा गर्न थालेको थियो । तीनकुने क्षेत्रका दर्जन बढी घरमा तोडफोड गरेका छन् । यसैबीच, साना समूहमा विभाजित प्रदर्शनकारीहरू विभिन्न स्थानमा आगजनी गर्दै हिँडिरेहका छन् ।