राष्ट्र सेवक कर्मचारीहरूको गुण–दोष टिप्पणी गर्ने स्थल संसद होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरूको गुण वा दोषबारे टिप्पणी गर्ने उपयुक्त स्थल संसद नभएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले केही दिनयता संसद अवरुद्ध रहेको सन्दर्भ उल्लेख गर्दै भने, ‘एउटा कर्मचारीको विषयमा प्रश्न उठाएर संसद् अवरुद्ध गर्नु उचित होइन ।’ उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि स्वयं सदनले निर्धारण गरेको बताए ।
प्रधानमन्त्री ओलीले कुनै कर्मचारीबाट विभागीय मन्त्रीले आफू प्रति ‘लोयल्टी’ महसुस नगरेमा ‘चेन अफ कमाण्ड’ ले प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने जस्ता निर्णय लिन सकिन्छ ।’
माओवादीले केही दिनयता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर संसद् अवरुद्ध गरिरहेको थियो । माओवादी केन्द्रले प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ नआएसम्म संसद् अवरोध जारी राख्ने अडान राख्दै आएको थियो । प्रधानमन्त्री ओलीको आजको सम्बोधनपछि संसद्को कारबाही पुनः सुचारु भएको छ ।
प्रधानमन्त्री ओलीले भने, ‘केही दिनयता संसद् अवरुद्ध छ । सुशासनका विषयमा प्रश्न उठ्नु स्वाभाविक हो। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यो सम्मानित सदन हो। तर, अहिले उठाइएको विषय सामान्य छ- एउटा कर्मचारीको विषयमा संसद् अवरुद्ध हुनु उपयुक्त होइन। राष्ट्रसेवक कर्मचारीहरूको गुण-दोष टिप्पणी गर्ने उचित स्थल संसद् होइन । यसका लागि निश्चित प्रक्रिया छन् । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि यसै सदनले निर्धारण गरेको छ ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार मात्र नभई अघिल्ला सरकारले पनि यस्ता निर्णय गर्दै आएको उल्लेख गरे । उनले संविधानको रक्षा, जनताको अधिकार, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र यसको सफल कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताए ।