सांसद सिंहको चुनौती : मालिक समाएर देखाउनुस्, २५ करोड कुनै भरियाको हुँदैन

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै मालिक समाएर देखाउन सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै विगतदेखि नै भरिया मात्रै समात्दै आइरहेको बताए ।
उनले भने, ‘यो सुन तस्करको पैसा हो । अहिले सबै तस्करीहरू बढेका छन् । जहिले पनि किलोका किलो सुन समातिन्छ । तर मालिक समातिँदैन । छानबिन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाभी लगाएर आफैसँग राख्छ सार्वजनिक गर्दैन ।’ उनले सुन प्रकरणका छानबिन समितिको प्रतिवेदनहरू सदनमा पेस गर्न माग गरे । सांसद सिंहले नेपालमा भएका विभिन्न आन्दोलनमा नेताहरू स्थापित हुने र जनता विस्तापित हुने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘हामीले विभिन्न आन्दोलन गरेर नेताजीहरू स्थापित गर्यौँ, जनता स्थापित भएनन्, विस्थापित भए । मैले पीएचडी (विद्यावारिधि) गर्दा एउटा किताब पढेको थिएँ– मेकिङ अफ लालु यादव, अनमेकिङ विहार, ठ्याक्कै त्यस्तै मेकिङ अफ नेताजीहरू, जो विचौलियामार्फत प्रधानमन्त्री र मन्त्री बन्नुभएको छ (अनमेकिङ अफ नेपाल) यसबारे म चाँडै किताब लेख्छु ।’
उनले सरकारसँग बिमाको रकम ३ अर्ब भए पनि १७ अर्बको दायित्व किन थपिएको भन्दै प्रश्न समेत गरे । पछिल्लो समय सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न बजेट अभाव भएको भन्दै यसलाई निरन्तरता दिन समस्या हुने बताएको थियो ।