प्रधानमन्त्रीले कविताबाट खोजे ‘भाइमारा र मूर्ति चोर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चलखेल भइरहेको भन्दै राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापनमा प्रधानमन्त्री ओलीले कविता प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्रीले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजिएको समेत कवितामार्फत भन्न खोजेका छन् । उनले भनेका छन् । कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन् । सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नु परेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त गरेका छन् ।
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने
आजकाल सहरमा ‘काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मूर्तिको
मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पकेटमाराको !
अञ्जुलीभित्र सजाएर राखेको नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौं
एउटा बृहत् मिलन, सम्मिलन
एउटा संकल्प सुवर्ण हिमवत्खण्डको
कथा– हाँगाबाट भुईंमा
भुईंबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ !
उन्माद,आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !
तर, समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकाल सहरमा ’काग काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन्
ओहो भाषा !
भनभन ! साँचो झुटो
सहरमा खोजी भइरहेछ हराएको मुर्तिको
मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पकेटमाराको !
तानातान छ, गतिको रथ र पाङ्ग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !
तर,
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ
अघि बढ्ने बाटो खोजिरहेछ
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर त्यही छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !