छुरा प्रहार गरी युवकको हत्या : शव सडकमै राखेर प्रदर्शन


२०८१ चैत ३ आइतबार ०५:२६ बजे

जनकपुरधाम । होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका १८ वर्षीय आँशु यादवको शव सडकमा राखेर आफन्त र स्थानीयले प्रदर्शनमा उत्रिएका छन् । प्रहरीका अनुसार जनकपुरको जलेश्वर सडक खण्डमा यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरूले युवकको शवसहित जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् । प्रदर्शनका कारण यातायात अवरुद्ध बनेको छ ।

उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको हो । प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । मृतककी आमाले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् ।

उनले भनिन्, ‘पुरानो रिसईबीले मेरो छोराको हत्या गर्‍यो । सबैलाई भनिरहे मेरो छोरालाई नमार्नु । तर मेरो पुकार कसैले सुनैनन् । निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्‍यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’ आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तिको माग गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७