वैदेशिक रोजगारीमा श्रमिकको पारिश्रमिक सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसारको पारिश्रमिक र सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू ठगिने, समस्यामा पर्ने र दूतावासमा गुनासो राख्दा बेवास्ता हुने गरेको बताए । उनले युएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसारको पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो गरेको उल्लेख गरेका छन् । उनले भने, ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुक टिकेको छ । तर, उनीहरूको पीडा हामीले बुझ्न सकेका छैनौं । दैनिकजसो मेरो सचिवालयमा ठगिएको, समस्यामा परेको र दूतावासले बेवास्ता गरेको गुनासो आउँछ ।’
उनले थपे, ‘हालै युएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको बताएका छन् । म्यानपावर कम्पनीहरूले मोटो रकम असुलेर भनेजस्तो काम नदिने र गुनासो गरेपछि श्रमिकलाई धम्क्याउने गरेको उनीहरूको भनाइ छ । त्यसैले श्रमिकहरूको अवस्था बुझेर सम्झौताअनुसारको सुविधा दिलाउन र उनीहरूलाई दुःख दिने म्यानपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
म्यानपावर कम्पनीहरूले श्रमिकहरूलाई भनेअनुसारको सेवा नदिने र गुनासो गरेमा धम्क्याउने गरेको पनि उनले बताए। यस्तै, उनले वर्षातको समय नजिकिँदै गरेकोले बाढीको जोखिम रहेका नदीहरूमा तटबन्धको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।