आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानबारे गम्भीर समीक्षा


२०८१ फाल्गुण २७ मंगलबार ११:४२ बजे

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको छलफलमा कृषि क्षेत्रमा उपलब्ध गराइने अनुदान र सहुलियतलाई कसरी व्यवस्थित एवं प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल भएको हो । बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउने विषयले प्राथमिकता पाएको थियो । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरूरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै उत्पादन वृद्धि र कृषिवस्तुमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपंक्षी बिमाको प्रिमियम अनुदान, उखुखेती प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहनलगायत अनुदान सहयोग दिँदै आएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान तथा सहुलियतका लागि चालु आवमा करिब रु ३६ अर्ब विनियोजन गरिएको छ । 

छलफलमा सहभागीले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए । संवैधानिक जिम्मेवारीअनुसार प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग मिल्ने तर सङ्घीय तहबाट हाल कार्यान्वयनमा रहेका निश्चित कार्यक्रमलाई तल्लो तहका सरकारमा पठाउनु पर्नेमा छलफलका सहभागीले जोड दिएका थिए ।      

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, कृषि सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो । यसअघि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिन्य तथा आपूर्ति, खानेपानीलगायत मन्त्रालयसँग छलफल गरिसकेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७