बेलायती चलचित्र ‘कामा’ मा नेपाली अभिनेता


२०८१ फाल्गुण २७ मंगलबार ०६:४५ बजे

काठमाडौं । नेपाली चलचित्र अन्तर्राष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन। गत भदौमा मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागन्ज’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल साबित गरिसकेका छन् । 

यसै क्रममा नेपाली अभिनेता टंक धमलाले अभिनय गरेको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्यान्डमा यही फागुन २३ गतेदेखि प्रदर्शनरत छ । चलचित्रमा उनीसँगै हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गरेका छन् । नेपाली चलचित्र ‘सरौतो’ मा अभिनय गरेका धमलाले अभिनय यात्रामा नयाँ अनुभव सँगालेको बताए । 

‘चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्रझैं प्रदर्शन हुँदा म निकै उत्साहित छु । यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन,  मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ’, उनले भने । 

ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ र भारतीय चलचित्र ‘एनिमल’ मा पनि अभिनय गरेका धमलाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’ मार्फत देखाउने प्रयास गरिएको बताए । उनले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षण समेत लिएको जानकारी दिए । 

‘मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रूपमा चुस्त देखिन मेहनत गरें । आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायांकनमा पुगेको थिएँ । नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उहाँहरूको कार्यशैलीलाई बुझ्ने मौका पाएँ’, धमलाले भने । 

चलचित्रमा उनले निर्वाह गरेको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ । त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका चलचित्र रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमलाले बताए । सन् २०१८ देखि मोडलिङमा सक्रिय धमलाले चलचित्र, विज्ञापन र म्युजिक भिडिओमा काम गरिरहेका छन् । विदेशी चलचित्रमा काम गर्दा थप अनुभवी बनाएको उल्लेख गर्दै अभिनेता धमलाले आगामी दिनमा संख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रमा काम गर्ने बताए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७