ट्रम्पद्वारा युएसएआइडीका महानिरीक्षक बर्खास्त
![](https://nayapage.com/uploads/content/2025/02/trump-and-martin2025-02-12-11-55-04.jpg)
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग नियोग (युएसएआइडी) का महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन् । मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो ।
उनलाई किन जिम्मेवारीबाट हटाइएको हो भनेर कारण भने नखुलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । महानिरीक्षकको कार्यालयले युएसएआइडीका कार्यक्रमहरूको निरीक्षण गर्छ । सोमबार यसले एक प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी कटौती गर्ने ट्रम्प प्रशासनको आलोचना गरिएको थियो ।
युएसएआइडी बन्द गर्नतर्फ सरकार अग्रसर भइरहँदा यसले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका कामहरू प्रभावित भएको भनेर प्रतिवेदनमा लेखेका थिए । ट्रम्प र इलन मस्कले भने जस्तो युएसएआइडी आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन् ।