चितवनमा सकियो रविको बयान, आजै थुनछेक बहस
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । लामिछानेको बयान बिहान पौने १२ बजेदेखि सुरु भएको थियो । अहिले थुनछेक बहसको तयारी भइरहेको छ । थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेेछन् ।
लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र अधिवक्ताहरू नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको विश्वकर्माले जानकारी दिएका छन् । सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।