सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता युवकको शव फेला
रौतहट । रौतहटको राजदेवी नगरपालिका–६ बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।
मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए । मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए ।
उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए । पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।