सरकारले ल्याएका अध्यादेश पास गर्न उपेन्द्र यादव ‘निर्णायक’


००:३० बजे

काठमाडौं । सरकारले भर्खरै ल्याएका ६ वटा अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कि नहुने हो भन्ने कुरा चासोको विषय बनेको छ । प्रतिनिधिसभामा सत्ता पक्षको सुविधाजनक बहुमत भएकाले अध्यादेश स्वीकृत हुन कुनै समस्या भएन । तर, राष्ट्रियसभामा भने सत्तापक्ष अल्पमतमा भएकाले द्वविधा छ ।

राष्ट्रियसभामा ३ सिट रहेको उपेन्द्र यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) निर्णायक देखिएको छ । जसपा खुलेर सत्ता वा विपक्ष दुवै मोर्चामा छैन । तर, संघीय सरकार र मधेस सरकार दुवैमा जसपा सहभागी छैन । यद्यपि गत ६ साउनमा प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिँदा जसपाले पक्षमा मतदान गरेको थियो । राष्ट्रिय सभाको अंकगणित अनुसार सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्ने कि नगर्ने भन्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल निर्णायक देखिएको छ । 

यादव नेतृत्वको जसपा नेपालले अध्यादेशको विपक्षमा मत दिने निर्णय गरेको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले निर्णायक मत दिने अवस्था सिर्जना हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र निकट मनोनीत सांसद नारायण दाहाल छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पारिवारिक सदस्य हुन् । अध्यक्ष दाहालले निर्णायक मत दिने अवस्थामा उनी अध्यादेशको पक्षमा नउभिन सक्छन् । यस्तो अवस्थामा राष्ट्रिय सभाबाट अध्यादेश अस्वीकृत हुनेछ ।

जसपाका एक नेताले संसदीय अंक गणितका कारण आफूहरुको हात माथि परेको बताए । उनले प्रमुख दुई सत्ताघटक काँग्रेस र एमालेले अध्यादेशमा सघाउन र सरकारमा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए। केन्द्रीय सरकारमा एक फुलमन्त्री र एउटा राज्यमन्त्री माग गरेको छ भने मधेश प्रदेश सरकारमा दुईवटा मन्त्रालय पाए सरकारमा सहभागी हुने जसपाले माग गरेको छ ।

‘अध्यादेशमा सहयोग गरेर सत्तारुढ दलका अगाडि उत्पन्न संकट व्यवस्थापनमा सहयोग गरे जसपा सरकारमा सहभागी हुने करिब निश्चितजस्तै छ । सरकारले आगामी २४ माघमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट अध्यादेश पारित गर्ने तयारी गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रियसभामा सत्तापक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद् छन् । यस्तै विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ जना छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

त्यसका लागि पार्टीले राजकिशोर यादवको नेतृत्वमा समिति नै बनाएको छ । समितिले भोलिसम्म पार्टीलाई अध्यादेशको पक्ष वा विपक्ष कता उभिने भन्ने विषयमा प्रतिवेदन दिनेछ । प्रतिवेदनबारे माघ २४ गते बिहान बस्ने संसदीय दलको बैठकमा छलफल गर्ने जसपा नेपालको तयारी छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक पनि सोही दिन बस्दैछ । 

त्यसैले जसपा नेपालको निर्णय आफू अनुकूल बनाउन प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले कसरत तीव्र पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई फोन गरेर अध्यादेशको पक्षमा उभिन आग्रह गरेका छन् । त्यस्तै, यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि फोन गरेर अध्यादेशको पक्षमा उभिन प्रस्ताव गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७