पाथिभरा केबलकारको विरोधमा जारी आन्दोलन स्थगित, पक्राउ परेका सबै छुट्ने
काठमाडौं । ताप्लेजुङ पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विरोधमा जारी आन्दोलन स्थगित गरिएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र केबलकारको विरोधमा उत्रिएका सम्बद्ध संस्थाका प्रतिनिधिहरुबीच भएको वार्तामा सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा विवाद चर्किएपछि अरुण पूर्वका नौं जिल्लामा यातायात बन्द गरिएको थियो । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले असहमति जनाउँदै यातायात बन्द लगायतका आन्दोलन थालेपछि स्थिति तनावग्रस्त बन्दै गएको थियो ।
सोमबार र मंगलबार ललितपुरको हिमालयन होटलमा बसेको बैठकले सहमती जुटाएको हो । आन्दोलनकारीका वार्ता टोलीका एक सदस्यका अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।
सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ । यस्तै आन्दोलनका क्रममा थुनामा रहेका सबैलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्न सरकार सहमत भएको छ ।
मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता माघ २७ गते बिहान ११ बजे बस्ने पनि दुई पक्षबीच समझदारी छ ।
आजको वार्तामा भएका सहमतिका बुँदा
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।