राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारले भने–हाम्रो सम्बन्धमा गोर्खा सैनिक कोसेढुङ्गा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्ड र श्रीमती सोफियासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ६ दिने भ्रमणका लागि आजै नेपाल आइपुगेका उनीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतनिवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा दुई देशबीच भएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराएकी छिन् ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । ‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको उल्लेख गरे ।
उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे । नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित मंगलबार नै काठमाडौं आएका हुन् । सो शिष्टाचार भेटमा बेलायतका राजकुमारका धर्मपत्नी सोफीया, नेपालका लागि बेलायती राजदूत समेत सहभागी थिए ।
भेटमा राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासकाबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवर्तनले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि बताए । उनले ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल–बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरेका छन् ।