प्युठानमा वृद्ध हत्याको आरोपमा महिलासहित दुई जना पक्राउ
प्युठान । प्युठानमा ६९ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले पक्राउ गरेको हो । १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत फेला परेका थिए ।
मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो । उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदुकुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ ।