सांसद भट्टराईको प्रश्न : अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्न सुहाउँछ ?
काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् । उनले कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको बताए ।
आज (आइतबार) को राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताए । उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्नु उचित नहुने बताए ।
उनले भने, ‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता बिरोध गरेको छ। ल्याउनु हुँदैन थियो भन्न मिल्छ ? सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो । हामीले सदनमा भनेका हौँ, कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भयो । लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ । त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठिक भयो र ?’