गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिऊ : सांसद सापकोटा
काठमाडौं । राष्ट्रियसभामा सत्तारुढ नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आज (आइतबार) को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले एनआरएन पनि नेपाली भएको दावी गर्दै वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनु पर्ने बताइन् ।
उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानून निर्माण गर्न जरुरी रहेको बताइन् । सांसद सापकोटाले भनिन्, ‘एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ । उनीहरू नेपाली हुन् । विदेशमा काम गर्न गएका हुन्।
उनीहरूलाई वंशज नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्छु । आर्थिक स्थिति वृद्धि गर्न हामीले धेरै कानून निर्माण गर्नुछ ।’ उनले दुई दलले मात्रै संविधान संशोधन हुन नसके पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् ।