कटुवाल बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एक सय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एक सय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।
कटुवालले पटक–पटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्व बेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।
सो सूचीमा बेलायतको समाजसेवामा महत्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् । कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन् । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ सय माइलको पैदल यात्रा गरेका थिए । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।
त्यस्तै कटुवालले कोरोना संक्रमणकालमा संटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए । पानस हेल्पिङ हेण्ड्स च्यारिटी समेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड समेत पाएका थिए ।