लेखा समितिमा उर्जामन्त्रीको ‘ठेक्का मिलेमतो’ का विषय छलफल हुनुपर्ने माग


२०८१ माघ ८ मंगलबार १७:५६ बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्ने माग उठेको छ । जलविद्युतका ठूला आयोजनामा मिलेमतो गरेको भनी सार्वजनिक भएका विवरणलाई लिएर सार्वजनिक लेखा समितिको बैठक बोलाउनु पर्ने माग भएको हो । 

लेखा समितिको मंगलबारको बैठकमा माओवादी सांसद अमनलाल मोदीले ऊर्जामन्त्रीको विषय सार्वजनिक रुपमा उठिरहेकाले समितिमा छलफल गर्नुपर्ने बताएका छन् । ‘कसले कताका चेक कता पठायो भन्ने सार्वजनिक सञ्चारमाध्यममा आइरहेको छ । ऊर्जामन्त्रीको बारेमा विषय उठिराखेको छ । त्यसको बारेमा सार्वजनिक लेखा समितिमा कुरा गर्नुपर्छ कि पर्दैन ? उजुरी आएपछि कसैले निवेदन हालेपछि मात्रै हुँदैन, समितिले आफै पनि छलफल गर्नुपर्छ,’ मोदीले भने ।

जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा ऊर्जामन्त्री खड्कामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । सोही विषयमा समितिमा छलफल हुनुपर्ने माग समितिमा उठेको हो ।

समितिमा उजुरी आएमात्र छलफल हुने नभए छलफल नै नहुने अभ्यास गलत रहेको पनि सांसद मोदीको भनाइ थियो । मन्त्रीहरूमाथि उठेका, आयोजनाका सम्बन्धमा भएका अनियमिततालगायतका सार्वजनिक महत्त्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्ने उनको माग थियो । ‘सार्वजनिक महत्त्वका विषयमा लेखा समितिमा छलफल हुनुपर्छ । ती विषय समितिमा प्रवेश गराउनुपर्छ । समितिमा उजुरी नगर्दा पनि प्रवेश गराउनुपर्ने हुन्छ,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७