रुपन्देही जाँदै रवि, बुधबार अदालतमा उपस्थित हुने


२०८१ माघ ८ मंगलबार १९:५२ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा बयान दिनका लागि मंगलबार रुपन्देही जाँदैछन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने तयारीमा छन् । 

रुपन्देही प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले लामिछाने रुपन्देही आउने तयारीमा रहेको जानकारी दिएका छन् । लामिछाने भोलि (बुधबार) आफैं अदालतमा उपस्थित हुनेछन् । लामिछानेविरुद्ध आइतबार रुपन्देही अदालतमा दर्ता भएको थियो। लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७