वर्तमान सरकार ८४ को निर्वाचनसम्मै गई दिए हुन्थ्यो भन्ने हो : प्रचण्ड
चितवन । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।
अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’ आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गई दिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी दिए । चितवनमा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे ।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रष्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’ प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए ।
कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’