कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : प्रदीप ज्ञवाली
लमजुङ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलुकमा विकासले लय लिन थालेको बताएका छन् ।
एमाले लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिन थालेको दावी गरे ।
सुशासन र प्रभावकारी सेवाका लागि कानून बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उनको भनाइ छ । मुलुकमा देखिएको संकट समाधान गर्न दुई ठूला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल शुरू भए त्यसले कुनै असर नपार्ने उनको भनाइ छ ।