अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता जारी, को–को छन् दाबेदार ?


२०८१ माघ ८ मंगलबार १५:४० बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि अनलाइनमार्फत् उम्मेदवारी दर्ता जारीे छ । सम्मेलनअन्तर्गतको निर्वाचन समितिका संयोजक मुक्ति प्रधानका अनुसार सबै प्रदेशमा अनलाइन मनोनयनको व्यवस्था गरिएको छ । 

जसअनुसार बिहान ८ बजे उम्मेदवारी अर्थात् मनोनयन दर्ता सुरु भएको छ भने यो साँझ ६ बजेसम्म जारी रहनेछ । अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेको छ । अध्यक्ष पदमा ८ जना भन्दा बढी दाबेदार छन्। हेमन्त किराँती राई, सुदिन पौडेल, तिर्सना हमाल, योगेन्द्र बुढा, विजयप्रकाश सापकोटा, पार्वती नेगी, राजन आले, विश्वमणि थापालगायत अध्यक्ष पदका दाबेदार रहेको अखिल (क्रान्तिकारी) का एक नेताले जानकारी दिए ।

उनीहरु सबै निवर्तमान उपमहासचिव हुन् । अखिल (क्रान्तिकारी) मा ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय कमिटीका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।  निवर्तमान पदाधिकारीमध्ये ४१ जनाले मात्रै नयाँ निर्वाचनमा भाग लिन पाउने क्रान्तिकारीले जनाएको छ । १३८ जना पदाधिकारी भने उमेर हदका कारण निर्वाचन प्रक्रियाबाट स्वतः बाहिरिएका छन् ।

यी दाबेदारमध्ये अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ निकट विजयप्रकाश सापकोटा हुन् भने उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त किराँती राई र उपमहासचिव वर्षमान पुन निकट सुदिन पौडेल छन् । माओवादीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास पनि जारी छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७