अखिल (क्रान्तिकारी) को अध्यक्षमा श्याम रोक्काको उम्मेदवारी घोषणा 


२०८१ पौष २९ सोमबार १६:१५ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । ‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ मान्यतासहित रोक्काले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको जानकारी दिए । उनले साथै जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ३२ वर्षे उमेदर हद तोकिएका कारण यसपालि नेतृत्वमा को आउँछन् भन्ने कुरा चासो साथ हेरिएको छ । विद्यार्थी प्रतिनिधिहरूको निर्णयले नयाँ नेतृत्वको तय गर्नेछ।

रोक्काले विभिन्न एजेण्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेका छन् । उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेण्डामा समावेश गरेका छन् ।

रोक्काले विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो एजेण्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७