तालिबानले नारीलाई मानव मान्दैनन्‚ उनीहरूको सरकारलाई ‘वैधता’ नदेऊ : मलाला
इस्लामाबाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले आइतबार मुस्लिम नेताहरूसमक्ष अफगान तालिबान सरकारलाई ‘वैधता’ नदिन आग्रह गरेकी छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षासम्बन्धी शिखर सम्मेलनमा शिक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै २७ वर्षीया युसुफजईले भनिन्, ‘उनीहरूलाई वैधता नदिनुहोस् ।’
यस्तै उनले महिला तथा बालिकाको शिक्षामाथिको प्रतिबन्धको विरोध गर्दै ‘वास्तविक नेतृत्व’ देखाउन पनि भनेकी छन् । उनले भनिन्‚ ‘मुस्लिम नेताहरूका रूपमा तपाईंहरूले वास्तविक नेतृत्व देखाउन सक्नु हुन्छ ।’ ‘सरल भाषामा भन्नुपर्दा तालिबानले महिलालाई मानवका रूपमा हेर्दैन’, युसुफजईले सम्मेलनमा भनिन्, ‘उनीहरूले आफ्नो अपराधलाई सांस्कृतिक र धार्मिक औचित्यमा लुकाउँछन् ।’
पाकिस्तानी शिक्षामन्त्री खालिद मकबुल सिद्दिकीका अनुसार निमन्त्रणा गरिए पनि अफगान तालिबान सरकारका प्रतिनिधिहरू उपस्थित भएनन् । हाल पाकिस्तान र अफगानिस्तानबीच सहज सम्बन्ध छैन । महिला शिक्षा अधिकारका लागि अभियान चलाउँदै गर्दा सन् २०१२ मा १५ वर्षीया स्कुलकी छात्रा हुँदा पाकिस्तानी तालिबानले युसुफजईको अनुहारमा गोली हानेका थिए । रासस