प्रधानमन्त्रीलाई कप्तान किरणको आग्रह : एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर एएफसी एसिया कप छनोट खेल नेपालमै आयोजना गर्नका लागि पहलकदमी लिन आग्रह गरेका छन् । एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’मा छ ।
नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन् । जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय भएको छ । तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउने वा नपाउने निश्चित नहुँदा नेपालले आफ्नो ‘होम म्याच’ घरेलु मैदानमा खेल्ने निश्चित छैन ।
पछिल्लो पटक दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले आफ्नो होम म्याच समेत विदेशमा खेल्नु परेको थियो। आउँदो मार्चमा मलेसियासँग हुने खेलका लागि एसियाली फुटबल महासंघका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गर्नेछन् । त्यसपछि मैदान खेल्न योग्य हुने वा नहुने पक्का हुनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषदसँग मैदान सुधारका लागि छलफल गरेको थियो । कप्तान किरणले पनि होम म्याच नेपालमै आयोजना गराउने वातावरण बनाउने फुटबल संघ नेतृत्वलाई आग्रह गरेका थिए । होम म्याच नेपालमै हुने वा नहुने अन्योल बढेपछि कप्तान किरणले यस विषयमा प्रधानमन्त्री ओलीलाई पनि जानकारी गराएका हुन् ।
‘नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ । हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि प्रधानमन्त्री ज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ,’ ओलीसँगको भेटबारे किरणको भनाइ छ, ‘उहाँको पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ ।’
एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ ।