पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नु पर्छ : मन्त्री पाण्डे


०३:१२ बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।

मन्त्री पाण्डेले भने, ‘पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दैछौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन् ।’ उनले  पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए । मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका काम कारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे ।

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गरे । उनले भने, ‘काठमाडौँ एयरपोर्टको विकल्प निजगढ मात्रै हो,  पहिलो प्राथमिकता दिइयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ ।’ पूर्व प्रधानमन्त्री नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभइ कहाँ आवश्यक छ कहाँ छैन कुनै हिसाबकिताब गरेर मात्र गर्नुपर्ने बताए  । पर्यटकलाई आकर्षित गर्न गन्तव्य ठाउँ सफा सुग्घर बनाउनुपर्ने  उनको भनाइ थियो ।

सांसद प्रभू साहले निजगढ एयरपोर्टमा चासो नपुगेको  र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गरे । साथै उनले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको बताउँदै मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । सांसद धवल शमशेर जबराले पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भनी प्रशंसा गरे । उनले मुलुकमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

सांसद भीमप्रसाद आचार्यले  नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताए । भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने उनको भनाइ थियो । उनले यसका लागि ,दुई छिमेकीमुलुकसँग छलफल हुन जरूरी रहेको बताए । सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गरे । उनले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्ने बताए । 

सांसद सुनिता बरालले पर्यटन क्षेत्रमा भूकम्पपछि क्षति भएका सम्पदा कति सम्पन्न भए कति हुन बाँकी छन् जानकारी गराउन माग गरिन् । सांसद प्रेम सुवालले मन्त्रालयको बेरूजु किन फछर्याैट हुन सकेको भनी प्रश्न गरिन् । सांसद शिशिर खनालले हवाई क्षेत्रमा नियमाक निकाय र सेवा प्रदायक निकाय छुट्याउने विषयमा प्रगति राम्रो भएको उल्लेख गरे । सांसद योगेश गौचन थकालीले नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने  बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७