पिंगलास्थान होटेलमा सुस्मिता मृत्यु प्रकरण : सँगै बसेका युवक मोबाइल लिएर फरार
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी युवतीसँगै बसेका युवक फरार भएका छन् ।काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मृतकको मोबाइल समेत लिएर भागेका हुन् ।
काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाकी २२ वर्षीया सुस्मिता खड्का बुधबार साँझ पिंगलास्थानस्थित वागमती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थिइन् । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको थियो । सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मृत्युपछि भने ती युवक कोठामा चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी स्रोतले बतायो । फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ । शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किए जस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको भनाइ छ ।
‘कतै घाउचोट पनि नहुनु । बेडमै मृत भेटिनु र मुखबाट फिँज जस्तो पदार्थ देखिएकाले रेडबुलमा मिसाएर कुनै नसालु पदार्थ सेवन गरे-गराएर हत्या भएको हो कि भन्ने आशंका गरेका छौं,’ एक अनुसन्धान अधिकृतले भने, ‘यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको कारण यकिन हुन बाँकी नै छ ।’
उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन् । जसकारण युवती कोठाबाट बाहिर निस्कन लागेपछि उनी सँगै होटलमा आएका युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका प्रहरीको छ । ‘खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकाले उनी कोठाबाट बाहिरिने तरखरमा थिइन् कि भन्ने बुझ्न सकिन्छ । अब संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्रै थप कुराहरू खुल्ला’ एक अनुसन्धान अधिकृतले भने ।
होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीसँगै होटलमा गएका युवक फरार छन् । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन् ।