शेरा दरबारको १६८ रोपनी जग्गा जफत गर्न सीआइबीको पत्राचार


२०८१ पौष १२ शुक्रबार १४:०६ बजे

नुवाकोट । नुवाकोटस्थित शेरा दरबारको १६८ रोपनी जग्गा दुरुपयोग भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धानमा त्यहाँको जग्गा दुरुपयोग भएको पाइएपछि सरकारको नाममा ल्याउन पत्राचार गरेको हो ।

सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको जानकारी दिए ।

अख्तियारले जग्गाका विषयमा विगतदेखि नै चासो राखिरहेकाले त्यहाँ पनि प्रतिवेदन पठाइएको सीआइबी स्रोत बताउँछ । सीआइबीले उक्त जग्गाको ४ महिना लगाएर अनुसन्धान गरेको हो । दरबारको १६८ रोपनी जग्गा हदबन्दीको प्रयोजनविपरीत भोगचलन गरेको भेटिएको थापाले बताए । 

पृथ्वीनारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए । शाह परिवारबाट नामसारी हुँदै सो जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा पुगेको थियो । २०३६ सालमा हदबन्दी लागू भएपछि हेलेन र जयन्तीको नाममा रहेको बाहेकको झण्डै १६८ रोपनी जग्गा मालपोत कार्यालयबाट गौरीशंकर फार्मिङको नाममा राखिएको पाइएको छ । 

नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ मा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरेका थिए । मालपोत कार्यालयको श्रेस्तामा केरमेट गरेर गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाएको पाइएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । २०६६ सम्ममा विकेश श्रेष्ठसहित ६ जना सेयर सदस्य भएर सो जग्गा भोगचलन गरेको भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

अहिले भने अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठ र उनको परिवारका नाममा मात्रै रहेको प्रहरीको अनुसन्धानमा भेटिएको छ । विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव थिए । माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे । उनी माओवादीका पूर्व केन्द्रीय सदस्य समेत हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७