यो गठबन्धन सरकार ढल्ने सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री राणा
कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जनताका आशा अपेक्षालाई सम्बोधन गर्ने गरी अघि बढिरहेको दावी गरेकी छन् । धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । उनले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशा अपेक्षालाई सम्बोधन हुने गरी अघि बढिरहेको बताइन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको उनको भनाई छ ।
परराष्ट्रमन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता रहेको बताइन् । वर्तमान सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न समेत आग्रह गरेकी छन् । उनले कांग्रेस–एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरिन् । सत्ता गठबन्धन पुरै अवधि जाने र सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको परराष्ट्रमन्त्री राणाले बताइन् ।