ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो ‘ग्लोबल हाट बजार’


२०८१ पौष ८ सोमबार १९:५४ बजे

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । ‘उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नाराकाका साथ बैंकले काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ ।

आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । हाट बजारको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए ।

हाट बजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने उनले बताए । ‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो,’ उनले भने । 

उनले हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामाग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७