पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ
पोखरा । पोखरास्थित संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिव पक्राउ परेका छन्। पोखरा महानगरपालिका–२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरूलाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले अपिल गरेको छ । सोमबार एक सूचना जारी गरी रकम अपचलनमा परेका पीडितहरूले प्रमाणसहित प्रहरीमा उजुरी दिन भनिएको हो । पोखरा महानगरपालिका– २३ कार्कीको तहराबाट सञ्चालन भइरहेको सहकारीको २ करोड ९६ लाख रकम अपचलन भएको प्रारम्भिक छानबिन रिपोर्टले उल्लेख गरेको छ ।
सहकारीका अध्यक्ष पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदीविरुद्ध अनुसन्धान गर्न कास्की अदालतले ७ दिनको म्याद दिएको छ । उनीहरुले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना गरेको भन्दै अनुसन्धानका लागि पीडितहरूले सहकारी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । सोही आधारमा छानबिन गरी रिपोर्ट कार्यालयले प्रहरीलाई दिएको छ ।