सामुहिक मकै खेती गर्दै ताप्लेजुङका किसान


२०८१ फाल्गुण २८ बुधबार १५:२४ बजे

ताप्लेजुङ । ताप्लेजुङका किसान क्रमशः सामुहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकै खेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकै खेती गरिरहेका छन् । 

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामुहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामुहिक मकैखेती थालेका हुन् । कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार  एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामुहिक खेतीका निम्ति रु १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ ।

रामपुर हाइब्रिड १६ र मनकामना–३ प्रजातिका उन्नत जातका लगाइएको छ । परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ । सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईका अनुसार सामुहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् । स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन् ।  कृषि पर्यटन प्रवद्र्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य  छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७