एकै दिन २१ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ ह्वातै बढेको छ । सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।