वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद
बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन् । बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामथ्र्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए । चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उहाँले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताए ।
‘नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन । ऋण लिन सक्ने नेपालको सामथ्र्य नभएकाले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौं’, नेता साउदले भने । आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उनले बताए। गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताए ।
कांग्रेसको एक सय दिने विषेश अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताए । उनले भने, ‘अभियान प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । यसले आगामी दिनमा कांग्रेसलाई थप मजबुद र सबै तहका साङ्गठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ ।’