रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) काठमाडौं ल्याइने भएको छ । लामिछानेलाई साँझ ५ः३० बजेको जहाजमा पोखराबाट काठमाडौं ल्याउने तयारी छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिन लामिछानेलाई काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा समेत गएको देखिन्छ ।
रवि र उनका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष जीबी राईले संयुक्त नाममा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको छ । रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रूपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुई पटक ऋण लिइएको थियो ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ । २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।