स्वदेश फर्किएका सभामुखले भने–नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी
काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना भएको सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रमा सहभागी भएर सभामुख घिमिरे मंगलबार राति स्वदेश फर्किएका हुन् ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण सफल भएको बताए ।
‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ विमानस्थलमा सभामुख घिमिरेले भने, ‘नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्द्धन गर्न भ्रमण सफल भएको छ ।’
सभामुख घिमिरेले मंसिर ८ देखि ११ गतेसम्म चलेको सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए । कम्बोडियामा रहँदा सभामुख घिमिरेले त्यहाँका प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । संसद्बाट टीआरसी विधेयक पारित गराएको भन्दै कम्बोडियाको संसद्ले सभामुख घिमिरेलाई गार्ड अफ अनर प्रदान गरेको थियो । ५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंसिर ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।