विश्वको सबैभन्दा वृद्ध व्यक्तिको निधन, यस्तो थियो जीवन शैली
काठमाडौं । विश्वका सबैभन्दा वृद्ध व्यक्ति बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ । उत्तरपश्चिम इङ्गल्याण्डको साउथपोर्टमा रहेको केयर होममा उनको निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उद्धृत गर्दै बताएको छ ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भएको हो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।
‘उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो’, परिवारले एक विज्ञप्तिमा भनेको छ, ‘वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।’ टाइटानिक जहाज डुबेको वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।
‘तपाईं या त लामो बाँच्नु हुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नु हुन्न’, उनले भनेका थिए । उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । ‘यदि तपाईँ धेरै पिउनु हुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नु हुन्छ भने, यदि तपाईले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नु हुनेछ’, उनले भनेका थिए ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे । उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए र हरेक शुक्रबार माछा र चिप्स खान्थे । विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका छिन् ।