प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न वाध्य भएका हौं : नेता डा. महत


२०८१ मङ्सिर १० सोमबार २३:१३ बजे
फाइल फोटो

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. महतले नेकपा (माओवादी केन्द्र) को बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासको लागि गरिएको प्रणले अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दाबी गरे ।

कांग्रेसका प्रवक्ता डा. महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन् । उनले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्ने यो त प्राकृतिक र स्वाभाविक देखिएन भन्छन्, तर दुइटै पार्टी हैरान भए, उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनु पर्ने, कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई त म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’

‘ठूला दलहरू सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउँदो पक्ष होइन’, पूर्वमन्त्री डा. महतले भने, ‘पाटी भन्दामाथि उठेर, जनताको पृष्ठ पोषणको लागि काम गर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’ सरकार सञ्चालनमा ठूलो दल कांग्रेसले पार्टीभन्दा माथि देश र जनताको पक्षमा काम गर्न प्रतिनिधिहरू खटाएको उनले स्मरण गराए । सोहीअनुसार नेकपा (एमाले) ले देश विकासको लागि सत्ता गठबन्धनको लक्ष्यअनुसार साथ दिँदै आएकाले कांग्रेस–एमालेको गठबन्धन आगामी चुनावपछि कायम हुनसक्ने उनको भनाइ छ ।  

डा. महतले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा ऋणभन्दा अनुदान केन्द्रित कार्यक्रमलाई कांग्रेसले जोड दिने बताए । ‘चीनसँग मात्र होइन जुनसुकै राष्ट्रसँग ऋण लिन सक्ने हैसियतमा मुलुक नभएकाले अनुदान र सहयोगका कार्यक्रमलाई मात्र कांग्रेसले स्वागत गर्दछ ।’ उनले भने, ‘चीन सरकारसँग कोभिड यता भएका अनुदानका सहमति कार्यान्वयन गर्न, आगामी दिनमा अनुदान र सहयोगको दायरा बढाउन तथा लगानी भित्र्याउने किसिमका साझा कार्यक्रममा समझदारी गर्नु पर्दछ ।’ प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुने सहमति तथा सम्झौताको लागि नेपाली पक्षले सरोकारवालाको सुझावअनुसार नै प्रस्ताव लैजाने उनले विश्वास व्यक्त गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७