धितोपत्र बोर्डले पायो ११ महिनापछि अध्यक्ष, सन्तोषनारायण श्रेष्ठ नियुक्त


२०८१ मङ्सिर १० सोमबार २२:३२ बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो । अध्यक्ष नियुक्ति सिफारिसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनेको थियो । समितिले आइतबार श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव पेस गरेका थिए । 

सोही आधारमा मन्त्रिपरिषद्ले उनीहरूमध्ये सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।लामो समयदेखिको खिचातानीका कारण गत पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो । सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता समेत हिजो सकिएको थियो । 

आवेदन दिएकामध्ये कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण आइतबार भएको हो । अन्तर्वार्तामा अर्का उम्मेदवार चिरिञ्जिवी चापागाईं भने अनुपस्थित थिए । आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको पहिले नै अन्तर्वार्ता भइसकेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७