तीन किलो सुन तस्करी प्रकरण : असई तिवारी निलम्बित


२०८१ मङ्सिर १० सोमबार २२:०९ बजे
सांकेतिक तस्वीर

काठमाडौं । तीन किलो सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत असई सविन तिवारी निलम्बित भएका हुन् । तिवारीलाई छानबिनका लागि निलम्बन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । 

रसुवाको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन बाटोबाटै हराएपछि तस्कर समूहले भरियालाई अपहरण गरेको थियो । सुन गायब भएपछि तस्कर समूहले भरिया एवं गाडीका चालक रामकृष्ण वाइबालाई अपहरण गरी बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएको थियो।

२४ साउनको यो घटनामा संलग्न भएको आरोपमा केही दिन अघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४ जनालाई पक्राउ गरेको थियो । रसुवाको गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवाको धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका–१, राम्चेका ४८ वर्षीय गोपाल तामाङ पक्राउ परेका छन् ।

कन्टेनर चालक वाइबाले सुन आएको बारे जानकारी आफ्ना मामाका छोरा निमा छिरिङ तामाङलाई दिएका थिए । निमाले उक्त जानकारी असई तिवारीलाई दिएको खुलेको छ । त्यसपछि तिवारीले उक्त जानकारी राजश्व अनुसन्धान विभागमा कार्यरत सशस्त्रका डीएसपी सञ्जय अधिकारीलाई दिएको खुलेको छ ।

तर उक्त सुन खानीखोला आइपुगेपछि लुटिएको थियो । खानीखोलामा हतियारसहितका अज्ञात व्यक्तिले चालकलाई धम्क्याउँदै सुन लुटेका थिए । नेपाल प्रहरीलाई खबर नगरी राजश्वको टोलीलाई खबर गरेको र यही बीचमा तस्कर समूहबीच कनेक्सन गरेर लुटपाटको भूमिका खेलेको हुनसक्ने आशंका असईमाथि गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७