रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा आज प्रहरीले कास्की अदालतमा पेस गर्न लागेको हो ।
म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारीबाट झण्डै पाँच करोड गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।
संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो ।समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन् ।चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको देखिएको छैन । तर यी सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रवि पनि जोडिएकाले उनी अनुसन्धानको दायरामा परेका हुन् । लामिछानेको पक्राउलाई रास्वपाले भने राजनीति प्रतिशोध साँधिएको बताउँदै आएको छ ।