सभामुख घिमिरेलाई कम्बोडियामा ‘गार्ड अफ अनर’


२०८१ मङ्सिर ९ आइतबार १४:१८ बजे

काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको हो ।

सभामुख घिमिरे अहिले कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका छन् । नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सभामुख घिमिरेले कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुशी व्यक्त गरेका छन् । सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच सम्पन्न हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास पनि व्यक्त गरे ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका हुन् । भ्रमणका क्रममा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख घिमिरे मंसिर ११ गते स्वदेश फर्किने  कार्यक्रम छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७