‘हनी ट्रयाप’ प्रकरण : एसपी थापा जोगाइए, फरार इन्सपेक्टर शाहीविरुद्ध मुद्दा चलाउन राय
काठमाडौं । ललितपुरको भैंसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको ‘हनी ट्रयाप’ घटनाको अनुसन्धान टुंगिएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
यसमध्ये चार जना पक्राउ छन् भने प्रहरी निरीक्षक बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन् । उक्त घटनामा ललितपुरस्थित प्रहरी परिसरले प्रहरी सहायक हवल्दार महेन्द्र हमालसहित ताज स्लाम, सुष्मा विक र भीमदेवी थापालाई पक्राउ गरेको थियो । पोखरेललाई इन्स्पेक्टर शाहीले बीच बाटोबाटै भगाएकी थिइन् भने आफू निलम्बनमा पर्नुअघि नै इन्स्पेक्टर शाही फरार भएकी थिइन् ।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदारसहित चार जना थुनामा छन् ।
ललितपुरको सानागाउँमा घर जग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका थिए । घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति पनि बनाएको थियो ।
छानबिन समितिले पटक–पटक सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित भएकी थिइनन् । भैंसेपाटीबाट इन्स्पेक्टर शाहीसहित उक्त घटनामा संलग्न सबै व्यक्तिलाई झिकाउने क्रममा ताज स्लमको आइफोन र दोषीमध्येका दर्शन पोखरेललाई बीचबाटोमै गायब पारिएको थियो । आफूमाथि मुद्दा चल्ने संकेत पाएसँगै इन्स्पेक्टर शाही सम्पर्क बाहिर रहिन् । हालसम्म उनी फरार छिन् । सीआइबी प्रवक्ता बोगटीले उनीसहित फेला पर्न बाँकी रहेका सामानको खोजीका निम्ति अलग्गै टोली परिचालित भएको बताएका छन् ।