दुर्गा प्रसाईलाई लगियो अदालत
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज (बुधबार) अदालत लगिएको छ । उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्याइएको हो ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो । १५ जनालाई भने राति नै छाडेको थियो ।
यता प्रसाईंमाथि अनुसन्धान गर्न सीआइबीले साइबर ब्युरोमा पठाएको थियो । ब्युरोले अबेर मात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै अदालतमा पेश गरेको थिएन । कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा रास्वपाकी महिला नेतृको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी एक लाख धरौटीमा रिहा भएका थिए ।